" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

हाम्रो बारेमा

ललितपुर महानगरपालिका वडा नम्बर ६ लाई यहाँको जीवित शिल्पकलाको मूर्त सम्पदाका आधारमा वर्गीकरण गरिएको छ । विभिन्न आयामका हस्तशिल्प, धातुको मूर्ति, काष्ठकला, मूर्तिकला, प्रायः सबैले यस कलालाई पेशाको रूपमा अंगालेर जीवनयापन गरेका छन् । ललितपुर महानगरपालिका बिश्वोको ३५ औं शिल्प नगरको रूपमा सूचीकृत हुनु पछाडिको कारण यस्तै अन्य वडामा भएका सम्पदाहरूका र बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थलको रुपमा बनेको शिखर शैलीको महाबौद्ध मन्दिर, श्री रुद्रवर्ण महाविहार र श्री वैश्र वर्ण महाविहार यस वडाको अदभुत परिचय हुन् । त्यसैगरी शिखर शैलीमा बनेको महाबौद्ध मन्दिरले यस वडाको पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल र अन्य विदेशी नागरिकहरुलाई पर्यटनको रुपमा पनि आकर्षण गरेको छ ।

ओकुबहा: स्थित रुद्रवर्ण महाविहार र जशश्री महाविहार, गुजिबहा: स्थित वैश्र वर्ण महाविहार, थपा हिटी स्थित दिन वर्ण महाविहार र स्थाविर पात्र महाविहार, र अन्य १० विहार, १५ बहा: २ बहि: ३ ननि, ३ देग:, ४ ल्वंहिटी, ३ चुक, १ ल्वंह देग, १ लुँहिटी, २ फल्चा, १ दिगी, १ दिगिघ: गरि यस वडा बौद्ध सम्पदाले भरिपुर्ण रहेको छ । श्रद्धेय माधवी गुरुमाले भगवान बुद्धको दिव्य उपदेशलाई अङ्गिकार गर्दै आफ्नै घरको छिडींमा थैना टोल स्थित १०१३ सालमा यशोधरा बौद्ध माध्यमिक विद्यालय स्थापनाले यस वडाले गरिमामए स्थान ओगटेको छ ।

यस वडाका श्रमजीवि बासिन्दाहरु हस्तकलामा निपूर्ण छन् र उनीहरुको कलाकारिताले आफ्नो वडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान रहेको छ । यसबाहेक, उनीहरूको कला संसारका धेरै भागहरूमा प्रतिस्थापन गरिएको छ । बिशेषतह: नेवार समुदायको बुहुल्य रहेको यस वडामा अन्य विभिन्न जनजातिहरू यहाँ सहअस्तित्वमा रहेकाले यहाँको मौलिक सभ्यता धार्मिक सहिष्णुताका कारण यस वडा नं ६ झनै सुन्दर भएको आभास हुन्छ ।